रोल्पाली संग दुख साट्दै मिग फाउन्डेसन नेपाल ! - Magar Laapha Tv

रोल्पाली संग दुख साट्दै मिग फाउन्डेसन नेपाल !

पदम थापा मगर 
असार १५ रोल्पा, रोल्पा जिल्लाको थवाङ गाउँपालिका र परिवर्तन गाउँपालिकाको ८२ घर विपन्न परिवारलाई मिग फाउन्डेसन नेपालले राहत (खाद्यान्न सामाग्री) वितरण गरेको छ । 
(कोभिड-१९) को कारणले पछिल्लो समय नेपालको विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा भैरहँदा ज्याला ज्यालामजदुरी गरेर खाने वर्गहरुलाई अत्यन्तै गाह्रो भएको र रोल्पा जस्तो अत्यन्तै विकट ठाउँका व्यक्तिहरुलाई झनै गाह्रो भएकोले कम्तीमा पनि उहाँहरुको घरमा बिहान बेलुकाको चुलो बलोस भनी मिग फाउन्डेसन नेपालले अत्यावश्यक चिजहरु दाल, चामल, नुन र तेल वितरण गरेको हो । 
स्थानीय निकाय संग समन्वय गरि आयोजना गरेको राहत वितरण कार्यक्रममा विभिन्न ठाउँको वडा अध्यक्ष ज्यु हरुले विपन्न परिवारहरुको पहिचान गरि सहयोग गर्नुभएको थियो भने सामान ढुवानीको लागि परिवर्तन गाउँपालिका वडा नं. १ कुरेली निवासी भिम बहादुर बुढा मगर ज्यु ले ट्याक्टर सौजन्य गरिदिनुभएको थियो । 
कार्यक्रममा नेपाल मगर संघ, जिल्ला समन्वय समिति रोल्पाका अध्यक्ष कुम पुन मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य नरेन्द्र घर्ती मगर, मिग फाउन्डेसन नेपालका प्रवक्ता पदम थापा मगर, मिग फाउन्डेसन नेपालका सदस्य सुजन थापा मगर लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।