मिग फाउन्डेसन नेपालले ५४९ घर विपन्न परिवारलाई खाद्यान्न र मेडिकल सामाग्री वितरण ! - Magar Laapha Tv

मिग फाउन्डेसन नेपालले ५४९ घर विपन्न परिवारलाई खाद्यान्न र मेडिकल सामाग्री वितरण !

जेठ २८, काठमाडौ 
पदम थापा मगर 
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारणले पछिल्लो समयमा नेपालको विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा भैरहँदा ज्याला मजदुरी गरेर खाने वर्गहरुलाई बिहान बेलुकाको छाक जुटाउन निक्कै गाह्रो भएकोले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थापना भएको "मिग फाउन्डेसन नेपाल" ले देशभरीको विभिन्न जिल्लाका ५४९ घर परिवारलाई राहत वितरण गरेको छ । 
कोरोनाको अत्यन्तै प्रभावित क्षेत्र नेपालगन्जमा जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी प्रमुख SP ओम राना मगर ज्यु को रोहवरमा त्यहाँका जनताहरुको लागि मेडिकल सामाग्री हस्तान्तरण गर्दै शुरु गरेको मिग फाउन्डेसन नेपालको अभियान अघि बढ्दै जाँदा बाँकेमा १८ घर विपन्न परिवारलाई खाद्यान्न सामाग्री र सुर्खेतमा ४७ घर विपन्न परिवार संगै आगालागी पीडितलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरेको थियो । 
तेस्तै प्युठानको ऐरावती गाउँपालिकामा आगालागी बाट पीडित ६ घरलाई खाद्यान्न सामाग्री वितरण गर्दै कैलालीको चुरे गाउँपालिका वडा नं. ४ सैनमा २०७७ भदौ ३ गते गएको बाढीबाट पीडितहरुको अझै पनि पुनर्स्थापना नभएकोले जंगलमा पाल मुनि अत्यन्तै नाजुक अवस्थामा बस्दै गरेका १७ घर बाढी पीडितलाई खाद्यान्न सामाग्री वितरण गरेको थियो । 
गोर्खाको पालुङटारमा लकडाउनबाट प्रभावित विपन्न परिवारका १२ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेपछि तनहुँमा बन्दिपुर गाउँपालिका र ऋषिङ गाउँपालिका गरि १३० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको थियो ।
नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा म्याग्दीको वेनी बजारमा ज्याला मजदुरी गरेर खाने ३२ घरपरिवारलाई राहत (खाद्यान्न सामाग्री) वितरण गर्दैगर्दा यता राजधानीमा केन्द्रित भएर ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुलाई यतिबेला लकडाउनको कारणले बिहान बेलुका चुलो बाल्न धौ-धौ परेको अवस्थामा काठमाडौ र ललितपुरको ३९ घर निम्न वर्गका परिवारलाई खाद्यान्न सामाग्री लगायत औषधिजन्य सामाग्री वितरण गरेको छ । 
नेपाल आदिवासी जनजाति युवा महासंघ बाग्लुङको समन्वयमा बागलुङको ३९ घर विपन्न परिवारलाई राहत वितरण गरेको मिग फाउन्डेसन नेपालले पर्वतमा १३३ घर र कास्कीको सैनिकबस्ती, बुढीबजार, निर्मलपोखरी र माछापुच्छ्रे गाउँपालिका सहित ३५ घरपरिवार लाई खाद्यान्न सामाग्री वितरण गरेको छ । 
मोरङको लेटाङ गाउँपालिकामा १६ घर परिवारलाई मिग फाउन्डेसन नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ भने झापाको कन्काई नगरपालिकामा २५ घर परिवारलाई राहत वितरण गरेको छ । 
रोग, भोक र आर्थिक अभावको कारणले कसैले ज्यान गुमाउन नपरोस् भनी शुरूवात भएको यो अभियान निरन्तर अगाडि बढिरहँदा देश तथा विदेश बाट थुप्रै सहयोगी मनहरुले सहयोग गरिरहनु भएकोले सहयोगी दाताहरुलाई धन्यवाद सहित उहाँहरुको सहयोगलाई उच्च मुल्यांकन गर्दै साच्चिकै विपन्न परिवार र पीडित व्यक्तिहरुको पहिचान गरि सम्बन्धित व्यक्ति माझ राहत पुर्याउन कुनै कसुर बाकी नराखी दिनरात नभनिकन खटिरहेको र अभियान निरन्तर चलिरहने मिग फाउन्डेसन नेपालका संयोजक अनिता राना मगरले बताउनुभयो । 
Covid-19 ले आज विश्व अछुतो छैन । यसको संक्रमणले आज सिंगो मानव जगतलाई नै आक्रान्त बनाईरहेको छ । तर श्रोत साधान भएको व्यक्तिहरुलाई र विकल्प बिहिन व्यक्तिहरुलाई परेको समस्यामा धेरै फरक छ । कतिपय व्यक्तिहरुले सामान्य अभाव पुर्ति गर्न नसक्दा रोग र भोकले सम्पुर्ण परिवारको ज्यानै जोखिममा पर्न गएकोले उक्त मानव जीवनको रक्षा गर्न हामी सबैको कर्तव्य र धर्म हो ।देशको विभिन्न ठाउँबाट पीडितहरुले फोन गरेर मिग फाउन्डेसन नेपाललाई सहयोग गर्न अपिल गरिरहेकोले श्रोत र साधन हुनेहरुलाई आफुले सक्दो सहयोग गरि अभियानलाई साथ दिन मिग फाउन्डेसन नेपालका संरक्षक तथा योजनाकार सुमन थापा मगरले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरु माझ आग्रह गर्नुभयो ।