कौराहा अब काठमाण्डौमा । - Magar Laapha Tv

कौराहा अब काठमाण्डौमा ।


चैत्र- १, काठमाण्डौ
पदम थापा मगर

राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालले निमार्ण गरेको डकुमेन्ट्री फिल्म "कौराहा" अब काठमाण्डौमा प्रदर्शन हुने भएको छ ।
मगर संस्कृतीमा आधरित नेपाली भाषाको डकुमेन्ट्री फिल्म "कौराहा" लाई मगर उत्थान समाज गोंगबु काठमाण्डौले यही चैत्र २ गते शनिबार दिउँसो १ बजे टो.न.पा. ११ को सामुदायिक भवनमा प्रदर्शन गर्न लागेको हो ।

कौराहाकै उद्गमस्थल तनहुँको ऋषिङ माझकोट र आँपथोकमा छायांकन गरिएको डकुमेन्ट्री फिल्म ‘कौराहा’ पछिल्लो समय धेरैले मन पराएकोले सबैको चासोको विषय बनेको छ । तनहुँको ऋषिङबाट शुरूवात भएको मानिने कौराहा मगर समुदायमा नचाइने विभिन्न नाचहरु मध्येको एक प्रमुख नाचको रुपमा लिईन्छ । कौराहा पछिल्लो समय नेपाली लोकसंगीतको एउटा हिस्सा बनेको छ ।

डकुमेन्ट्री फिल्म "कौराहा" को ट्रेलर केही महिना अगाडि सार्बजनिक भएको थियो । ट्रेलरमा मगर जातिहरुको जिवनशैली, मगर्नी तरुनीहरुले तन्नेरीहरुलाई कौराहा नचाउन गरेको निम्तो, कौराहा शुरु गर्दा देविदेउताको नाम लिदै अन्तिममा बिदाईको गीत गाउदै छुटेको दृश्य देख्न सकिन्छ । यद्यपि यो भन्दा अगाडि तनहुँको दमौलीमा २०७५ कार्तिक १७ गते पहिलो प्रदर्शन पश्चात् नेपालको विभिन्न ठाउँहरुमा प्रदर्शन गर्दै जनवरी २७ मा हङकङको ओसियन सेन्टर हल र मार्च ३ तारिख यु के को अल्डरसटमा समेत भब्य प्रदर्शन गरिसकेको छ ।

सञ्चारकर्मी हर्क आले मगरको लेखन तथा निर्देशनमा बनेको सो फिल्मको मुख्य भुमिकामा मगर रोष गुमष्ठा हङकङको अध्यक्ष समेत रहेका रविन्द्र थापा मगर र बेलायतमा भएको मगर गट ट्यालेन्ट्स–२०१७ कि विजेता सविता राना मगर "नाना" रहेका छन् । तेस्तै अन्य कलाकारहरुमा पवन राना मगर, पदम थापा मगर, राम आले मगर, सरुना वानटाङ्गे मगर, सृजना आले मार, सोनाम आले मगर लगायतले अभिनय गरेका छन् । फिल्ममा अशोक आले मगरको सहनिर्देशन, नविन केसीको छायांकन र नेत्र गुरुङको सम्पादन रहेको छ ।

खैजडी र झर्राको तालमा गाईने परम्परागत कौराहा लोप हुदै गएकोले पुरानै शैलीमा कौराहालाई जिवन्त राख्न डकुमेन्ट्री फिल्म "कौराहा" निर्माण गरेको फिल्मका संयोजक तथा कार्यकारी निर्माता तारामाया थापा मगर बताउनु हुन्छ ।